"जेठी"
त्यस दिन अर्कै खालको बातावरण थ्यो घरमा, फुपु र आमाको खुसुर पुसुर सुनिन्थ्यो भान्छा कोठामा। एउटा नयाँ अनुहार देखिएको थ्यो हाम्रो घरमा, फुपुले ल्याउनु भएको। त्यस्तै ३०-३२ बर्षको महिला, तर उमेरभन्दा धेरै पाको देखिएको, कुर्कुचा पटपट फुटेका, छाला खस्रो र घामले डढेको, खाली खुट्टा हिंड्ने। फुपुले नयाँँ चप्पल किनिदिनु भएको रे, तर उनलाई लाउन आउँदैन रे। यस्तै यस्तै कुराहरु सुनिन्थ्यो। उनको नाम सीता रे, तर घरमा "जेठी" भनेर बोलाउने रे। फुपुको "जेठानी" रे नातामा, लोग्नेले कान्छी श्वासनी ल्याए पछी दु:ख पाएकी रे। दुइटा छोरा सङै एक्लै गाउमा बस्थी रे। त्यो मात्रै हैन, बेलाबेलामा फुपुले सानो आवाजमा आमालाई "जेठीको" पेटतिर देखाउदै के के भन्नु हुन्थ्यो। हामी साना साना भुराभुरी हरु केही बुझ्दैनथ्यौ। अरु भन्दा मलाई केही न केही भैरहेको छ भन्ने शँका लागिरहेको थ्यो। म बेलाबेलामा फुपुको कोठातिर चिहाउने गर्थे।
***********************************************
हामीले पनि सीतालाई "जेठीदी" भनेर बोलाउन थाल्यौ। जेठिदी सबै काम गर्थी, घर सफा गर्ने, भाँडा माझ्ने, पानी बोकेर ल्याउने। उनको मुहारमा एउटा निर्दोष मुस्कान थ्यो। हेर्दा लाटी जस्तै देखिए पनि उसँग केही न केही आकर्षण थ्यो। म कल्पना गर्थे, उनको कपाल श्याम्पु लगाएर स्टेप कट काट्ने र हलुका मेकप गरिदिने। उ धेरै राम्री त हैन तर शहरकी महिला जस्ती देखिन्थी होला। गाउमा उनी दाउरा काट्ने, गाइबस्तु हेर्ने, खेती गर्ने गर्थी रे। त्यसैले होला उसको पाखुरा बलिया र ठुला ठुला देखिन्थे। उ खाना पनि मिठो नमिठो जे पनि सफा गरेर खान्थी। जेठीदी कहिलेकही रुन्थी एक्लै। मैले उनलाई २-३ चोटि कहिले भान्छामा, कहिले धारामा एक्लै रोएको देखेकी थिए।
फुपुले एकदिन जेठीदिलाई अस्पताल लानु भयो। त्यो दिन जेठीदी उदास देखिनु हुन्थ्यो। मैले फुपुलाई सोधे, जेठीदिलाई के भयो? उहाँले केही पनि भन्नु भएन। तर पनि मलाई केही न केही रहस्य छ जस्तो लाग्यो।
राती म छिट्टै निदाएको जस्तो गरे तर म फुपु र आमाको कुरा सुनिरहेको थे।
"आइमाइको जात सार्है दुखी!" फुपुले कुरा निकाल्नु भयो।
"लोग्नेमान्छेको रहर, आइमाइको पीडा। झन यो जेठी अब का जान्छे? गाँउबाट त निकाली हाले नि त्यो चोरले ।" आमाको कुराले मेरो कान ठाडो भयो।
"बाहुन थियो रे जङलमा जाँदा दाउरा घाँसमा सघाउथ्यो रे, मुर्दार! सघाउने मात्रै हैन अरु पनि गरेछ जेठीलाई। बिचरी, लोग्ने को माया नपाएकी , पग्ली होली नि त्यो असतिको जालमा। त्यो मुर्दारको त श्वासनी छोराछोरी नि थियो रे। उ लोग्ने मान्छे, जे गरे नि माफी, जेठी श्वासनी मान्छे, यसै बेश्ये उसै बेश्ये । मन नपरेको लोग्नेले झन मौका पायो, बेइज्जत गरेर गाउ निकाला गर्यो नि। अब का पठाउनु तिनलाई?"
"पेट त लोग्नेको नि हुन सक्छ, कहिले कही रक्सी खाएर आउथ्यो रे नि त?"
"लोग्नेको भये नि, बाहुनको भये नि कसले सुन्ने र गरीब आइमाइको कुरा? कसले दिने न्याय? कसले अपराधको छिनोफानो गर्ने ? जेठाजु नै प्रधानपन्च हुन त।"
"धन्न, कुटिपिटी मारेनन जेठीलाई। अब, फेरी त्यस्तो नहोला भन्ने के बेर? एक्ली छे, फेरी अरु कसैले फाईदा उठाएर पेट बोकी भने?"
"अब त्यस्तो गर्दिन होला, बिचरी ! यत्रो दु:ख पाइसकी?"
"के भन्न सकिन्छ, नानी? आइमाइको रुप मात्र हैन, शरीर नै शत्रु !"
"भाउजु, तपाईंको त्यो चिनेको स्कुलमा काम खोजिदिनु न जेठीलाई। जे काम नि गर्न सक्छे। सोझी छे। दु:ख गरेर भएपनी आफ्नो पेट पाल्छे नि।"
"दुइ चार दिन आराम गर्छे, रगत बग्न रोकेपछी खोजौला काम, जेठिलाई।"
"के गर्नु, भाउजु? लोग्ने त मेरो पनि गतिलो छैन। बाहिर राख्या छ त्यसले पनि मेरो सौता। तर घरकोले निकाले पनि "जेठीदी" म जस्तै आइमाइ हुन, अरुले नबुझे पनि हामीले बुझ्छौ उनको दु:ख।"
"त्यही त! लोग्नेले कान्छीसँग सुत्ने तर जेठी पवित्र बस्नु पर्ने। । जेठीको पनि रहर हुन्छ नि, लोग्नेको माया पाउने।"
"आज त खाना पनि खानु भएन। माया त लाग्छ नि आफ्नो सन्तानको, बाउ जो सुकै होस्। एकचोटि कोखमा आएपछी, सन्तान त आमाकै हुन्छ।"
"डक्टरले ढिलो भयो अब केही गर्न मिल्दैन रे। जेठीदी पनि मान्नु भएन। अब दु:ख गरेर नि हुर्काउछु भन्नु हुन्छ। के गर्ने भाउजु?"
"नानी, हामीले सकेको गरौ, अरु जे हुन्छ, जेठीको भाग्यको कुरा। तर तपाईंको दाई र ज्वाँईसाहेबलाई केही थाहा दिनु हुन्न। जेठीको काम खोज्ने जिम्मा मेरो। तर कसैलाई नभन्नु है ?"
त्यो रात मैले अलि अलि कुराहरु बुझे, केही कुरा बुझिन। तर "जेठीदी" को पेटमा बच्चा छ भन्ने कुरा थाहा पाए। माया लाग्यो, केही भन्न सकिन।
***************************************************************************
१ हप्तापछी "जेठीदी" हराउनु भयो, शायद कतै आमाले काम खोज्दिनु भयो। आँखाबाट टाढा भए पनि कहिले कही उहाको बच्चा जन्मेको, अनी काम राम्रो भन्ने कुराहरु सुन्थे,म लुकी लुकी, फुपु घर आउँदा। अचानक ३-४ बर्षपछी "जेठीदी" फेरी टुप्लुक्क आउनुभयो, एउटा तीन-चार बर्षको छोरो र काखे नानी बोकेर। आमा, फुपु, म लगायत सबैमा ठुलो आश्चर्य थियो। कुरै कुरामा थाहा भयो, जेठीदिलाई फेरी अर्को लोग्नेमान्छेले बासनाको शिकार बनाएछन र दोस्रो बच्चा भएछ। त्यो दिन जेठीदी को अनुहार निभेको दियो जस्तो थ्यो, अध्याँरो। छोरोको नाम "गोरे" राख्नु भएछ, छोरीको नाम ? छोरी फिर्ता गर्नु पर्ने रे केही महिना पछी। उसको नाम "कान्छी"। तर "कान्छी" को जन्म दिने आमाले कर्म दिन नपाउने रे। तिनै पढेलेखेका, रक्सी खाएर "जेठीदी" लाई बलात्कार गर्ने पुरुषको घर "दार्जिलिङ" पठाउने रे। त्यसदिन हामी सब स्तब्ध थ्यौ, हामीसँग "जेठीदी" लाई सम्झाउने शब्दहरु सकिएको थ्यो। हामीसँग रित्तिएको थ्यो उनलाई दिने सान्त्वनाहरु।
जेठीदी फेरी आउनु भयो २ हप्तापछी, यसपटक उहाँसँग "गोरे" मात्रै थ्यो हात समाउने।
शिक्षित भनाउदा उक्त पुरुषले उनलाई र उनको छोरालाई डेरामा राखेर बच्चा पाएपछी छोडेछन, तर १ महिनाको दुधे बालिका खोसेर। जेठीदी फेरी झुक्किनु भयो, यसपटक उहाको छोरी पनि खोसियो, लगातार बगेको आसु र दुधले "जेठीदिलाई" निथ्रुक भिजाएको थियो।
केही दिन फेरी हाम्रो घरमा फुपु र आमाको खासखुस शुरु भयो।
जेठीदीको काम पनि थिएन, बस्ने ठाउँ पनि थिएन अब। "गोरे" स्कुल जाने उमेरको हुन लागेको थ्यो। फुपुलाई चिन्ता थ्यो कसरी जेठीदिलाई काम खोज्ने भनेर। आमालाई शायद अरु कुराको नि चिन्ता थ्यो। एकदिन आमा र फुपु भएर फेरी "जेठीदी" लाई अस्पताल लानु भयो। केहीदिन जेठीदी आराम गर्नु भयो। त्यस्तै २-३ हप्तापछी आमाले उनलाई अर्कै ठाउमा काम खोजिदिनु भयो। "जेठीदी" फेरी गायब भइन्, गोरे लिएर। त्यही रात मैले फुपु र आमाको कुरा सुने।
"अब त दु:ख पाउदिन होला जेठीदी ले।" फुपुले भन्नु भयो।
"लोग्नेमान्छेले उनलाई हेर्ने दृष्टिकोण त के फरक हुन्थ्यो र?" आमाले भन्नु भयो।
"गरीब, एक्ली र बेसहारा आइमाइ लाई “बेश्या” सम्झिने त यो उहिलेदेखी को समाज हो। के छोड्ला र गिध्धे दृष्टिहरुले?"
"तर जे भये पनि अब उ फेरी पेट बोक्दिन।"
"हो, अब उसको भाग्यमा अरु धेरै दु:ख नथपियोस। उसको जस्तो दु:ख कसैले नपाओस।"
आजभोलि मलाई जेठीदीको खुब याद आँउछ। उहाँ कहाँ हुनुहुन्छ होला, "गोरे" ठुलो भयो होला, के गर्दै होला? उहाँसँग खोसिएर लगिएको छोरी कति बर्षकी भै होली? उसले "जेठीदी" लाई भेट्न पाइ की पाइन? कसैले उसलाई जन्म दिने आमाको बारेमा भन्यो कि भनेन? आदी, इत्यादी ।
समाप्त!