"दिदैनन् के दिदैनन्, मैले भनिसके नि दिदैनन् भनेर। पोहोर साल तिर भएको भए दिन्थे पनि होला यसपाली त बुढालाई नै त्यस्तो परेको छ झन त्यहि माथी हामीले माँग्नु हुन्न के" गोताएँ दाईले सबैलाई सम्झाउदै हुनुहुन्थ्यो।
"दिन्छन् होला हौ! एकपल्ट यसो सोधी हेरौँ न! के बिग्रिन्छ र? अब मकै, धान जस्तो कुरो भए मेरै बारीमा टन्न थियो। कसैसङ्ग माँग्नै पर्दैन थियो।" जिम्माल बा ले फेरि गोताएँलाई कुरो बुझाउन खोज्दै हुनुहुन्थ्यो।
पून्टे दाई, जिम्माल बा, गोताएँ दाई चौतारीमा बसेर छलफल गरिरहनु भएको रहेछ। म ठ्याक्कै त्यहि बेला त्यहाँ पुगेँ।
"ए ल ल कुम्ले नि आयो, बस छेउमा", पून्टे दाईले मलाई उनको छेउमा बसाले।
"के कुरा हुदैछ नि हजुरहरुको यहाँ, यसो मलाई नि भन्ने हो कि?" मैले बुढाहरु त्यसरी बसेको देखेर अचम्म मान्दै सोधेँ।
मेरो कुरो कसैले वास्तै गरेरन्, सबैजना खोइ के कुरा हो एक्दम घोरिएर सोच्न थाले।
"ए! गोताएँ! भोली सोध्न पर्छ के ति बुढालाई, तिनले दिन्छन् के" जिम्माल बाले त्यो एकछिनको सुन्यता भंग पार्दै गोताएँ दाईलाई भन्नुभयो।
"हैन के भाका यी जिम्माल बा? झन मैले भनिन यसपाली दिन्नन् भनेर, अस्ति भर्खर त्यत्रो कथा भने तिनैका बारेमा। राजाको सवारीले गर्दा उनको बाँस सबै काटेर लगिहाले सेनाले अनि एउटो पैसा नि दिएनन् भनेर, अब हामीले माँग्दा कसरी दिन्छन्?" गोताएँ दाईले जिम्माल बा लाई खाउँला झै गरेर भने।
"पैसा हालेर किनौँ न त त्यसो भए, कति पो पर्ला र?" जिम्माल बा ले समाधान खोज्नु भयो।
"के को तिर्छ पैस? दशैँको लागी पिङ हाल्नलाई चाहिएको ४ वटा बाँसलाई पनि कसैले पैसा तिर्छ?" अघि देखि चूप लागेर बसिरहनु भएको पून्टे दाई एक्कासी कराउनु भयो।
पून्टे दाई त्यसरी कराउनु भएको देखेर मैले चाँहि वरिपरि हेरेँ, कतै फ्याँकेको बोतल भेटिन्छ कि भनेर।
"अनि के गर्ने बिचार आयो त तिम्रो?" जिम्माल बा ले पून्टे दाईलाई सोध्नु भयो।
"हेर्नुस् जिम्माल बा! आफ्नो त एउटै कुरो छ सोझो औँलाले घिउ आएन भने औँला यसरी बङ्याउने" चोरी औँला बङ्याउदै पून्टे दाईले भन्नु भयो।
"हैन हैन त्यस्तो गर्नु हुन्न पाप लाग्छ। दशैँको लागी भनेर पिङ हाल्न पनि चोरेर ल्याउछ त बाँस? मलाइ चाँहि यो कुरा मनपरेन।" आफ्नो सिताराम सिताराम लेखेको ओढ्नेलाई एक फेर निकालेर टकटक्याउदै अनि फेरि त्यसले सर्लक्क पुरै जिउ ढाक्दै जिम्माल बा ले भन्नुभयो।
"ती बुढाले थाहा पाएनन् भने त पून्टे ले भनेको पनि ठिकै हो है। समातिइयो भने पो चोरी त, समातिएन भने त हराको मात्रै हो" गोताएँ दाईलाई पून्टे दाईको कुरो ठिक लागे जस्तो लाग्यो।
"कसरी थाहा पाउछन् भन्या, ति बुढा भनेका पल्लो गामका परे, हराको थाहा पाए भनेपनि जंगलका आएर लगेछन् भनेर बस्छन् नि" पून्टेदाई ले सहि थप्नु भयो।
"बुढाले थाहा पाए भने त बर्बाद हुने नै भयो, थाहा पाएनन् भने पनि त भगवानले त थाहा पाइरहेका हुन्छन् नि, पाप लाग्छ है पाप" जिम्माल बा लाई अझै चित्त बुझेको थिएन।
"ल ल कुरो मिल्यो, अब आज राती १० बजे तिर जान पर्छ तिनको बाँसघारीमा अनि ठ्याकठुक पारेर फर्किन पर्छ" पून्टे दाईले रातीको कार्यक्रम खररर भन्नु भयो।
"कुम्ले तँ पनि हिँड हामी सङ्ग, जिम्माल बाको मकै त खूब चोर्थिस अब पल्लो गामको बाँस चोर्न पर्छ" गोताएँ दाईले हुकुम गरे।
राती १० बजेतिर सबैजना ती बुढाको बाँसघारी नजिक पुग्यौँ।
"हे भगवान! अहिले सम्म गरेका धेरै पुण्यहरु मध्यबाट यो पापको लागी अलिकति अंश काट्नुस् है" जिम्माल बा निक्कै डराए जस्ता देखिन्थे।
"हत्तेरी केहि हुन्न के, नडराउनुस न भन्या! मैले भनेपछि सब ठिक हुन्छ। लौ अब बाँस काट्न थाल्नुस्" पून्टे दाई बाँस काट्न थाल्नु भयो।
म छेउमा बसेर वरिपरि कोहि आएका छन् कि भनेर हेर्न थालेँ। तिनै जना एउटा एउटा बाँस काट्न थाल्नु भयो।
"ए कुम्ले! यता आइज त।" जिम्माल बा ले मलाई बोलाउनु भयो।
"किन र जिम्माल बा, के भयो?" म जिम्माल बा नजिकै गएँ।
"यो ओढ्नेले मलाई अलि अफ्ठ्यारो पार्यो, यसलाई त्यहाँ तल राम्ररी राखिदे त, अहिले बाँस काटिसकेपछि ओढ्नु पर्ला" जिम्माल बाले त्यो सिताराम सिताराम लेखेको ओढ्ने मलाई दिनु भयो। मैले त्यो ओढ्ने उहाँकै छेउमा राखिदिएँ।
एकैछिन पछि सबैजना मिलेर चारवटा बाँस काटिसक्नु भयो अनि पून्टे दाई र म भएर दुइटा अनि जिम्माल बा र गोताएँ दाई भएर दुइटा बोकेर बल्ल तल्ल चौतारी सम्म पुर्यायौँ।
चौतारीमा ग्वाँचे, दादा, कैले, भउते आइसकेका रहेछन्। तिनीहरु ले चाँहि खन्ती अनि डोरी लिएर आएका रहेछन्।
सबै जना मिलेर चौतारीमा लिङे पिङ हालियो।
"लौ अब सबै जना घर जाओ। भोली बिहान आएर पिङ खेल्नु पर्छ। केटिहरु पनि खुशी हुने भए" गोताएँदाईले पिङ बनिसकेको जानकारी दिनुभयो।
"म चाँहि लागेँ धोबिनी कहाँ, यति बेला घराँ गए भने मार्छे बुढीले" पून्टे दाई धोबिनीका तिर लाग्नु भयो।
हामी सबैजना आ-आफ्ना घर लाग्यौँ।
भोलीपल्ट बिहानै चौतारीमा आएको त मिस, ठुली, सान्नानी, तितौरी सबैजना पालै पालो पिङ खेलिरहेका रहेछन्। गोताएँदाई चाँहि ती सबैलाई "देख्यौ त मैले तिमेरका लागी भनेर पिङ हालिदिएको" भनेर सबैलाई वरिपरि राखेर भन्दै हुनुन्थ्यो।
यसो पर हेरेको त जिम्माल बा चाँहि छेउ छाउका झाडीहरुमा खोइ के खोजिरहनु भएको रहेछ।
अनि मलाई अचम्म लागेर जिम्माल बा लाई सोधेँ, " के खोज्नु भएको जिम्माल बा?"
"मैले भने नि चोर्ने काम गर्न हुन्न भनेर, हिजो बाँस चोरियो, अहिले यहाँ मेरो त्यस्तो पुरानो राम्रो ओढ्ने कता हरायो हरायो" जिम्माल बा त्यो ओढ्ने खोज्दै हुनुहुन्थ्यो।
"ए लौ! तपाइँले त त्यो ओढ्ने त त्यहि बाँसघारीमै छोड्नु भए जस्तो छ। हिजो त्यहाँबाट ल्याएको याद छ त?" मैले हिजो को कुरा सम्झाएँ
"लौ मार्यो! त्यो त त्यहिँ छुट्यो होला" जिम्माल बा आत्तिनु भयो।
********************
पल्लो गाउँमा मुखियाको घरमा थुप्रै मान्छे भेला भएका थिए।
"अस्ति न राजाले लगे अहिले सम्म पैसा दिएका छैनन्, त्यो भन्दा पहिले जंगलका ले लान्थे, यसपाली चाहि कस्ले लग्यो नि?" ति बुढा कराउदै थिए त्यो सभामा।
"यो पक्कै त्यो पल्लो गाउँका मान्छेको काम हो, तपाईहरु यो ओढ्ने चिन्नु हुन्छ?" एकजनाले बाँसघारीमा भेट्टिएको सिताराम सिताराम लेखिएको ओढ्ने देखाउदै भेलामा बसेका मान्छेहरुलाई सोध्यो।
"यो त पक्कै पल्लो गाउँको जिम्मालको हुनपर्छ। यस्तो ओढ्ने अरु कसैले ओढ्दै ओढ्दैन" भिडबाट एउटाले भन्यो।
समाप्त (:पि)
--------------------------------------------------------------------------------------------
(के तपाइँहरुले गोताएँ दाईको "बाँसको पैसा" भन्ने कथा पढ्नु भएको छ?)