भाग-६
मेरो बिहानी उसैको सम्झनाबाट शुरु हुन्थ्यो र हरेक रात उसकै सपनीमा गएर टुङिन्थ्यो। बिहानै उठ्नासाथ चिया पकाउथे र घर पछाडिको ठुलो चौरमा बसेर उसको बारेमा सोच्थे। उ कहाँ बस्छ होला? के गरिरहेको होला? मलाई सम्झिन्छ कि सम्झिदैन होला? आदी इत्यादी कुराहरु मनमा खेल्थे। जब चिसो बतासले सरर मेरो गाला सुम्सुमाउथ्यो, मलाई उसले स्पर्श गरे झै लाग्थ्यो। निलो आकाशमा हेर्दै म मनमनै सोध्थे। “ए आकाश,
तिमी त देख्छौ होला उसलाई, मेरो माया उसैलाई लगिदेउ न !" हदै पार गरेको थे मैले उसको मायामा। उसको नोटहरु पढ्दा उसैले हेरिरहेको जस्तो लाग्थ्यो।
एकदिन हामी के हो बिषयमा छलफल गर्दैथ्यो। केही बिधार्थीहरु उसलाई प्रश्न गर्दैथे अगाडि, मलाई बिभा जिस्काउन थाली।
"अनी के छ त खबर हाम्रो बिनय जी को?"
"ठिकै छ!" मैले हड्बडाउदै भने, बिनय मेरो प्रेमी बिभा र जिबनको लागि, तर वास्तविक मेरो प्रेमी त अगाडि उत्तर दिदैथ्यो बिद्यार्थीहरुको !
"के गर्छ काम?" बिभाले अन्तर्वाता शुरु गरी!
"पढाउछ!" मैले दाँयाबाँया नसोची भने।
"मास्टर साहेब?" बिभाले पत्याइन।
"स्कुलमा पढाउछ!" मैले आफ्नो झुठलाई अरु मोडे।
"मास्टर साहेब रोमान्टिक छ?" बिभाले फेरी सोधी।
"एकदम रोमान्टिक! हरेक दिन चिट्ठी लेख्छ, उ ताराहरुमा मेरै अनुहार देख्छ रे!" मैले कुन फिलिमको डाइलग सम्झे।
"अनी?" बिभा चम्की।
"मेरो नाममा कबिता लेख्छ, गीत लेख्छ!" मैले खुस्केटलाई हेरे, उ एउटा बिधार्थीसँग कुरा गर्दैथ्यो।
"तिमीहरु कहिले भेट्छौ त?" फेरी उही प्रश्न!
"थाहा छैन!" मैले हरेक दिन भेट्छौ, तर मायाको कुरा गर्दैनौ भन्न सकिन।
"लङ डिस्ट्यान्स रिलेसनशिप कहिले सफल हुँदैन।" बिभाले मलाई सचेत गराइ।
मेरो त यही पनि केही भैरहेको थिएन। म उसलाई हरेक दिन देख्छु, उसैलाई सोचेर दिनरात तड्पिन्छु तैपनी मेरो प्रेमको गती जहाको त्यही थ्यो।
"कस्तो हुँदैछ पढाई?" झसँग भए म, मेरो अगाडि बिभा र जीबनको बिनय थ्यो, खुस्केट उभिएको थ्यो।
मेरो वाक्य फुटेन, म उसको अनुहार हेरी मात्र रहे।
"तिमीले अस्तिको जाँच राम्रो गरेको छौ! धेरै प्रगती हुँदैछ।" खुस्केट मलाई नै भनिरहेको थ्यो।
"सर, मेरो नि?" बिभाले सोधी।
"सरी! मैले सम्झिन सकिन!" खुस्केटले त्यसो भन्नु हुन्थेन। "म भोली पेपर फिर्ता दिन्छु सबैलाई!"
बिभाको मुख अध्यारो भयो। मेरो पेपर सम्झिने बिभाको नसम्झिने, खुस्केटले गल्ती गर्यो।
"केही सोध्नु छ?" खुस्केटले फेरी मलाई सोध्यो।
म लाटी झै भए, बोल्नै सकिन, मात्र टाउको हल्लाए, "केही छैन" भन्न सकिन।
त्यस्को दुइदिन पछी खुस्केटको मुखमा तनाब जस्तो देखिन्थ्यो। अली अली दारी पनि चुस्स चुस्स देखिन्थ्यो, उसलाई दारी सुहाएको जस्तो लाग्यो मलाई। पढाउनु अघी उसले भन्यो, उसको बारेमा कुनै बिधार्थीले कम्प्लेन गरेको छ। मैले बिभा र जिबनलाई हेरे, उनिहरु दुबै मेरो हेराइलाई बेवास्ता गरीरहेका थे। मलाई लाग्यो बिभाले गएर कुरा लगाइ, किनभने खुस्केटले मेरो जाँच मात्र राम्रो भएको कुरा गरेको थ्यो। जाँचको पेपर फर्काउदा मैले बिभालाई धेरै नम्बरले जितेको थे। मेरो ८०% थियो, उ अझै ७०% मा थी। मैले पेपर देखाइन उसलाई, उसलाई झन शँका लागेको हुन सक्छ। जिबन त ५०% तिर पुगेको थ्यो। जरुर उनिहरुबिच केही सल्लाह भयो। तर मलाई केही भनेनन।
मेरो साथीहरु साथी रहेनन, खाली मलाई खुस्केटको अध्यारो मुख हेरेर पीर पर्यो।
"पहिला मैसँग कुरा गरेको भए राम्रो हुन्थ्यो, हामी छलफलद्वारा समस्या समाधान गर्न सक्थ्यौ।" खुस्केट सकारात्मक कुरा गरिरहेको थियो।
क्लासरुममा सबै चुप थिए, पिनड्रप साइलेन्स थ्यो।
"आखिर म पनि त मान्छे हुँ, मेरो गल्ती होला तर त्यसलाई सुधारनै नसकिने त थिएन होला।" खुस्केट भन्दैथ्यो। त्यो दिन उसले हामीलाई नयाँ च्याप्टर पढाएन, पाँचौ जाँचको कुरा गरिरह्यो। कस्तो प्रश्नको हल कसरी गर्ने भन्ने कुरा गर्यो। महत्वपूर्ण च्याप्टरहरु दोहोर्यायो।
मैले नचाहेको दिन पनि आयो, पाचौ जाँच यानि मेरो जिबनको सबैभन्दा ठुलो जाँच, मेरो प्रेमको परीक्षा। जाँच अघिको रात मैले छर्लङ कटाए, धेरै छटपटाएर, थोरै पढेर। एउटा चिट्ठी लेख्ने प्रयास गरे। मैले सुरुवात गर्नै सकिन, "प्रिय" लेख्न डर लाग्यो, उ त अझै मेरो सर हो, केही गरी, चिट्ठी लेखेको कारण मलाई फेल गर्दियो भने भन्ने डर पनि लाग्यो। त्यसपछी मैले सोचे, म सानो "धन्यबाद!" नोट लेख्नेछु र पेपर सङै उसको हातमा दिनेछु। तर मैले त्यो नोट पनि लेख्न सकिन, अरु बिद्यार्थीको अगाडि उसलाई मैले चिट्ठी दिएको जस्तो हुन्थ्यो। त्यो उसको छबी र मेरो चरित्रको लागि राम्रो हुन्थेन। के गरौ? भनेर सोच्दा सोच्दै मैले उज्यालो भएको थाहा पाए। त्यो दिन जसरी भए पनि म उसलाई मेरो मनको कुरा बताउछु भन्ने निर्णय गरे।
मेरो मनमा डर थ्यो, चिन्ता थ्यो, जाँच भन्दा मलाई खुस्केटसङको भेटको पीर थ्यो। अन्तिम जाँच भएकोले होला क्लासमा सबै मनमनै पढिरहेका थे, बिभाले मलाई जाँच पछी भेटौ भनी। अन्तिम दिन भएकोले मैले हुन्छ भने। आखिर उ मेरो मिल्ने साथी थी। १० नबज्दै खुस्केट क्लासभित्र पस्यो, पहिलो नजर उसको म मा थ्यो, मैले उसलाई हेरे।
"अब के हुन्छ?" मेरो मनले उसलाई सोध्यो।
"किन यस्तरी ओइलाएकी?" उसको आँखाहरुले प्रतिप्रश्न गर्यो।
"म के गरु?" मनमनै सोधे।
"म कसरी भनु?" शायद उसले मनबाटै भन्यो।
हामी निशब्द हेरिरह्यौ एक अर्कालाई निमेसभर! कत्रो शुन्य! निस्तब्धता! कहालीलाग्दो खालीपन!
"किन यस्तो अध्यारो?" उसले मलाई भनेको हुन सक्छ तर उसले क्लासमा उज्यालो नभएकोले पनि भनेको हुन सक्छ, उसले बत्ती बाल्यो क्लासभारी उज्यालो भयो।
एक्छिनमा उ प्रश्नपत्र बाडिरहेको थ्यो, त्यतिबेला उसले मलाई हेर्दै हेरेन।
मैले मनलाई सकेसम्म प्रश्नपत्रमा केन्द्रित गर्न खोजे, बिस्तारै जाँचमा भुल्यो मेरो मन। जब म दोहोर्याउदै थिए, मैले याद गरे उ त्यो दिन मेरो छेउ नै आएन। मात्र अगाडि बसिरह्यो, मेरो मन चिसो भयो। एक मनले छिटो पेपर दिएर जाउ जस्तो लाग्यो, अर्को मनमा कतै उ आउछ मेरो नजिक जस्तो लाग्यो। उ जाँच सकेर जानेहरुलाइ "उज्ज्वल भबिश्यको कामना" भन्दैथ्यो। मैले प्रश्नपत्र धेरै दोहोर्याए, तर उसले एकचोटि पनि मलाई केही सोधेन। अन्त्यमा मैले पेपर बुझाउने निर्णय गरे, मेरो बेन्चदेखी उसम्मको दुरी संसारको सबै भन्दा लामो दूरी थ्यो, मैले एक पलमा नै पार गरे। उसले पेपर लिदा पनि मलाई हेरेन। केही भनेन। मैले उसलाई "धन्यबाद!" मात्रै भने। फर्किदै गर्दा "अब आराम गर्नु!" भनेको सुने।
परीक्षा हलबाट निस्किदा मेरो मुटु गर्हौ थ्यो, एउटा ठुलो गाँठो परेको थ्यो। मेरो मनमा अध्यारो थ्यो, म हिड्दै थे, म निस्कदैथे मेरो प्रेमको गल्लीबाट कतै टाढा, बाटोमा मैले कसैलाई देखिन, केही सुनिन, डाको छोडेर रुन मन लाग्यो, त्यसरी रुन कारण चाहिन्थ्यो, किन रोएको भनेर कसैले सोधे म सँग जवाफ थिएन। कलेजको मुख्य ढोकामा पुग्दा, मलाई मेरो आँखा रसाएको जस्तो लाग्यो, केबल एक थोपा आसु मेरो दाँया आँखाबाट झर्यो, त्यसलाई पुछे, सरासर हिडिरहे। बाटोभरी शुरुदेखी अन्त्यसम्मका द्रिश्यहरु मेरो आँखामा आइरह्यो, कतै उ मेरो पछी पछी आइरहेछ भन्ने आशामा पछाडि फर्केर हेरे। मैले उसलाई देखिन। मलाई फर्केर जान नमनलागेको होइन, तर जान सकिन।
अझै पनि म आफुले आँफैलाई सोधी रहन्छु।
"त्यो के थियो?"
समाप्त